चैत्र २३, ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुरको नवौं अधिवेशनको उद्घाटन सम्पन्न भएको छ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेेलले पानसमा बत्ती बालेर उद्घाटन भएको कार्यक्रमलाई रौनकयुक्त बनाउँन विविध सांस्कृतिक कार्यक्रम लोकनृत्य, गीतसंगीतदेखी स्वास्थ्य सिविर तथा रक्तदान कार्यक्रम राखिएको थियो । खैजडी भजनले सहभागीहरुलाई उत्साहित बनाएको थियो । उद्घाटन समारोहको हलभित्र कार्यक्रम चलिरहदा हलबाहिर स्थानीय बाजाहरुले समारोहमा रौनकता थपिरहेका थिए ।
समारोह स्थलमा स्वास्थ्य सिविर राखिएको थियो उक्त सिविरबाट १ सयभन्दा बढीले स्वास्थ्य सुविधा लिएका थिए भने रक्तदान कार्यक्रममा ६० जना सहभागीले रक्तदान गरेका थिए ।
अधिवेशनमा सम्बोधन गर्दै नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले अधिवेशनले पूरा गर्नुपर्ने कार्यभारका विषयमा चर्चा गर्नुभयो । पार्टीले मतदाताको कम्तिमा ३ प्रतिशत संगठित सदस्य बनाउने योजना पूरा गर्ने कार्ययोजना बनाएर अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो । पछिल्लो समयमा पार्टीको राजनीतिक एजेण्डा बदलिएको पोखरेलको भनाई थियो । समृद्धि प्राप्तिका लागि पार्टीका हरेक कमिटीले आफुलाई त्यसैतर्फ लाग्नुपर्नेमा वरिष्ठ उपाध्यक्ष पोखरेलले जोड दिनुभयो ।
एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्यहरु गुरु बराल र शेर बहादुर तामाङ, एमाले पोलिटब्यूरो सदस्य सुशिला नेपाल, केन्द्रीय सदस्यहरु हरिकृष्ण ब्यञ्जनकार र बाबुराम थापा, एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, एमाले बागमती प्रदेश सचिव नवराज सिलवाल, नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) ललितपुरका अध्यक्ष शिव कट्टेल, नेकपा (एस) का ललितपुर अध्यक्ष हरिकृष्ण थापा आदिले सम्बोधन गर्नुभएको थियो ।
हिजोबाट शुरु एमाले ललितपुरको अधिवेशन आगामी चैत्र २५ सम्म चल्नेछ । अधिवेशनले १ सय २० सदस्यीय नयाँ जिल्ला कमिटीको चयनसमेत गर्नेछ ।




