हेटौँडा | मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाकालिन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठानसम्बन्धी विस्तृत स्वेतपत्र जारी गरेका छन्।
यस स्वेतपत्रमार्फत हेटौँडा अस्पतालको स्वामित्व प्रतिष्ठानकै भएको दाबी गरिएको छ। तर, हेटौँडा अस्पतालको स्वामित्व हस्तान्तरण विरुद्ध राजनीतिक दलहरूले आशंका गर्दै विरोध जनाउँदै आएका छन्। मुख्यमन्त्री पौडेलले स्वेतपत्रमार्फत प्रतिष्ठानबारे देखिएका अन्योल र भ्रमको समाधान गर्दै प्रतिष्ठानको अवस्था, प्रगति र भविष्य योजनाबारे जानकारी दिएका छन्।
स्वेत पत्रमा मुख्यमन्त्री पौडेलले प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालको सम्पूर्ण स्वामित्व हस्तान्तरण भइसकेको र प्रतिष्ठानले नै अस्पताल सञ्चालन गरिरहेको बताएका छन्। उनले प्रतिष्ठानलाई वैधानिक रूपमा स्थापना गरिएकाले त्यसको संरक्षण र विकासमा सबैलाई लाग्न आग्रह गरेका छन्।
प्रतिष्ठानको कामकारबाहीमा कानूनविपरित अवरोध सिर्जना भएकाले प्रतिष्ठानलाई स्वायत्त रूपमा कामगर्न दिनुपर्ने उनको माग छ। स्वेत पत्रमा प्रतिष्ठानका उपलब्धि, सेवा विस्तार र भविष्य योजनाबारे समेत उल्लेख छ।
प्रतिष्ठान अन्तर्गत हेटौँडा अस्पतालमा ५०० शय्या विस्तारका लागि कामहुँदै गरेको र बेसिक हेल्थ साइन्स (युरोपियन युनियन) को पठनपाठनका लागि ५५ करोडको लगानीमा अत्याधुनिक भवन बनाउने काम भइरहेको जनाइएको छ। एमबिबिएस पठनपाठन शुरु गर्ने तयारी पनि भइरहेको उल्लेख छ।
स्थापनाकालका मुख्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकारसँग मकवानपुरमा छुट्टै प्रदेश अस्पताल स्थापना गर्न समेत अनुरोध गरेका छन्।
यो पनि पढ्नुहोस् :
मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग गाभ्न लागेको भन्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्रसहित जिल्लामा क्रियाशील ८ दलले आपत्ति जनाएका छन् ।
मकवानपुरका ८ दलले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले भौतिक पूर्वाधारविनै हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्न लागिएको भन्दै आपत्ति जनाएका हुन् । विज्ञप्तिमा राज्यको सम्पत्ति, आफ्नै अस्तित्व र गरिमा रहेको र दैनिक दुई हजारभन्दा बढी नागरिकले उपचार सेवा पाइरहेको हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने र अस्तित्व नै मास्ने गरी भइरहेको गतिविधि आफूहरुलाई मान्य नहुने उल्लेख छ ।
यसअघि सरकारको प्रतिष्ठानको आफ्नै भौतिक पूर्वाधार तयार गरी अस्पताललाई स्वतन्त्र ढङ्गले सञ्चालन गर्न दिने सहमतिविरुद्ध गएर बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले अस्पताल प्रतिष्ठानमा गाभ्नेगरी प्रक्रिया अघि बढाएको भन्दै ८ दलले विरोध गरेका छन् ।
विज्ञप्तिमा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक भीम पाख्रिन, एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णु दहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भरतप्रसाद पराजुली, जसपा नेपालका अध्यक्ष सोम घलान, राप्रपा नेपालका अध्यक्ष गुरुप्रसाद सापकोटा, राप्रपा उपाध्यक्ष अर्जुनप्रसाद गौतम र नेकपा मकवानपुरका इन्चार्ज वाटर सीले हस्ताक्षर गरेका छन् ।
उनीहरुले प्रदेश सरकारले हेटौंडा अस्पतालको अस्तित्व मेटाउने प्रयास गर्ने हो भने सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।




