समानता नेपाल
काठमाडौं । मुलुकका हरेक विद्यार्थी एवं नेपाल आर्मी तथा पुलिसलाई दुधको महत्व बुझाई आफ्ना कार्यालय मार्फत हप्ताको कुनै दिन अनिवार्य रुपमा पिउनुपर्ने वातावरण तयार गर्न सक्दा दुग्धजन्य वस्तुको उपभोग बढ्ने विश्वास रहेको बताइएको छ । नेपाल डेरी एसोसिएसनले आयोजना गरेको ‘सप्ताहव्यापी रजत जयन्ती एवं वार्षिक साधारणसभा’ का अवसरमा आज पत्रकार सम्मेलन गरी दुध र दुधजन्य वस्तुको खपत बढाउन उक्त कुरामा जोड दिनुपर्ने बताईएको हो । सो अवसरमा एसोसिएसनका पूर्व अध्यक्ष सुमित कोडियाले कृषि क्षेत्रमा दुग्ध क्षेत्रको विशेष महत्व रहेको बताउँदै आफूहरुसँग बटर र पाउडर राख्ने स्थानको अभाव हुँदा किसानलाई भुक्तानि दिन नसकिरहेको गुनासो गरे । उनले भने, “नेपालमा अन्य मुलुकबाट दुग्धजन्य पदार्थको आयात बढ्दा पसलबाट यसको बिक्रि हुँदा प्याकेजिङ र लेबलिङको कार्य अनिवार्य हुनुपर्नेछ ।” सरकारले सो व्यवसाय अपनाइरहेका व्यक्तिलाई सफ्ट लोन दिन अनिवार्य आवश्यक भएको कोडियाको बुझाइ थियो । उपाध्यक्ष दिप प्रसाद धमलाले नेपालमा दुग्धजन्य वस्तुको खपत घटनुमा आर्थिक मन्दी तथा दिनानुदिन बढ्दो बेरोजगारी एवं मानिस अन्य मुलुक बाहिरीने र शहरी क्षेत्रबाट बिस्थापित हुने क्रम बढ्दो रहेको जिकिर गरे । अध्यक्ष प्रल्हाद दाहालले दुध प्रशोधन व्यवसायीको सामुहिक हकहित तथा सुरक्षा र उन्नतीका लागि एसोसिएसनले काम गर्ने गरेको भनाइ राखे । उनले भने, “हामीले उद्योगीको सुझाव तथा समस्या एवं गुनासाहरु छलफल गरी सम्बन्धित निकाय समक्ष प्रस्तुत गर्न प्रतिनिधित्व गर्ने गरेका छाँै ।” आफूहरुले दुग्ध प्रशोधनहरुको प्रवद्र्धन तथा विकास र संरक्षणको लागि सरोकारवाला निकायसँग समन्वय गर्नाका साथै सो व्यवसाय माथि उठाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संघ, संस्था, निकाय र संगठनसँग समन्वय गर्ने गरेको दाहालले जानकारी गराए । उक्त कार्यक्रममा आज सार्वजनिक गरिएको प्रेस विज्ञप्तीमा एसोसिएसनले स्वच्छ तरिकाबाट दुध तथा दुग्ध पदार्थ प्रशोधन एवं उत्पादन तथा बजार व्यवस्थाका साथै व्यापारिकरण गर्न व्यवसायीहरुको ज्ञान अभिवृद्धि गर्ने, दुग्ध क्षेत्रमा देखिएका हरेक समस्याको विषयमा समय समयमा बैठक बसि छलफल चलाइएको उल्लेख गरिएको छ । यसैगरी एसोसिएसनका भावि योजनामा आफ्नो भवन नभएकाले आफ्नै बनाउने, सदस्यहरुको हितका लागि स्थापना गरिएको राहत कोषमा रकम बढाउने, हाल बटर स्टोर गर्न समस्या भई सबै सदस्यहरुले दुःख भोग्नु परेकाले एसोसिएसनलेनै सञ्चालन गर्ने गरी सामुहिक कोल्ड स्टोर स्थापना गर्ने, नेपालको डेरी स्तर उन्नति गर्न एसोसिएसनका सदस्यलाई स्वदेश तथा विदेशमा डेरी, फार्मका साथै मेला अवलोकन गराउन र दुध तथा दुग्ध पदार्थको स्वच्छता सम्बन्धि निर्देशिका पालना गर्न लागिपर्ने बताइएको छ । एसोसिएसनले जारी गरेको पत्रमा हाम्रो देशमा हाल खपत कम भएर तथा बाहिरबाट आयात बढी भएर दुध एवं दुग्ध पदार्थ व्यवस्थापन गर्नै कठिन, हाल सरदर ५ अर्ब बराबरको धुलो दुध र बटर स्टक भएको। छुर्पि र चिज निर्यात गर्न सक्दा केहि राहत हुने, दुध राख्न स्टोरको पुर्तिगर्ने, बटर राख्नका लागि सामुहिक कोल्ड स्टोर पनि संचालनमा ल्याइने उल्लेख गरेको देखिन्छ । त्यसैगरी एसोसिएसनले अहिले उद्योगले प्रति केजी रु १० कोल्ड स्टोरमा भाडा तिरेर बटर राख्न परेको, नेपालमा पशुपालन व्यवसाय र डेरी व्यवसायलाई राज्यले सहयोग गर्न सक्दा आर्थिक गतिविधि, रोजगार, कृषिजन्य पदार्थ आयातमा समेत कमि हुने, सहरबाट करिब रु ५ करोड गाउँमा जाने गरेको, नेपालमा दुध तथा दुग्ध पदार्थमा लाग्ने प्याकेजिङ्ग मेटेरियल धेरै जसो छिमेकी मुलुकबाट आयात गर्नुपर्ने बाध्यता रहेको दुखेसो गरिएको थियो ।