---- मंगलबार, साउन १२ गते २०८३
images
images
images
images
कविता

सपनामा मेलवादेवी 


सपनामा मेलवादेवी 

कवि - चेतनाथ धमला 

काठमाडौं ।
    
मेरो अबोध अनुहारमाथि 
फैलिएको छ खग्रास 
उल्टो घुमिरहेको छ सूर्य 
सिंहदरबारको खोपीमा 
मुस्कुराइरहेको छ चन्द्रशमशेर 
सिंहासनमा फनफनी घुमिरहेछ 
मेरै सामुन्ने एक्लै गिद्धे छाया

images

कालकोठरीबाट बगिरहेछ रगत र पिप ह्वासह्वासी निस्किरहेछ दुर्गन्ध 
चिच्चाइरहेछ कुनै आवाज

म कसैको रामभरोसामा पनि
 उधारो सपनाको क्षितिज हेरेर 
अब बन्न सक्दिनँ पितलको उँगाल 
टुलुटुलु हेर्न सक्दिनँ 
कसैको अस्मितामाथिको दाग

ए ! सुन, चन्द्रशमशेर 
बादलमै हराउने तारा बन्नु छैन मैले 
घडीको सुइ उल्टो घुमे पनि 
घडीको सुइ सुल्टो घुमे पनि 
म गुमनाम काफलबोटकी सुनमाया हुँ
अब म कसैको खोपीमा 'दरबारकी नानी बन्न चाहन्नँ'

झन् झन् उत्पीडनको घाउ पालेर
 काला हर्कतमाथि कति जल्नु ?
 रक्स्याहा समयसँग कति जुध्नु ?

चन्द्रशमशेरको सिंहासन उधिनेर 
कुटिल मुस्कानहरूमाथि खनिनु छ अरिङ्गालझैँ 
आफ्नै जीवनको साँवाब्याज खोज्नु छ मैले 
च्यातेर जुद्धशमशेरका स्मृतिहरू
 गाइरहने छु शुक्रराज शास्त्रीका गीतहरू

मेरो स्वर सुकाउन
सिन्दुरको पान खुवाएर 
गला बसाउने गरी 
जजसले छलछाम गरे 
तिनका विरुद्ध मैले के अपिल गरूँ?
खोपी नै कालकुट बनेको समय
आगोझैँ  सल्किन  संवाद गरिरहेकी छु सपनामा

भन ए, चन्द्रशमशेर 
मेरो स्वरका हत्याराहरू कहाँ छन् ?
तिम्रो कचहरीमा दुखियाको गीत गाइन्छ कि
ठालुको स्तुति ? 
कि लुटिन्छ चेलीको अस्मिता ? 
भन ! कसले च्यात्ला तिम्रा धारा र दफाहरू ?

मेरो स्वर फर्काइने रे 
एक हातमा ओखती 
र आँखामा कालो चस्मा भिरेर 
पाहुनाझैँ 
चिकित्सक आए र गए 
हतारको हावाझैँ  
महाराजकै क्षयरोग सुमसुमाउन

फेरि पनि निकाल्ने छु 
कोकिलको जस्तै सुरिलो स्वर 
गाउने छु थाकका थाक गीत 
आफ्नै भीरपाखामा छरिएका गीतका फाकीहरू
टिपेर गाउने छु  नयाँ जीवनको गीत
 चराहरूकै लयमा सुसेलिनेछु 

सोरठी भाकाहरूमा पिपिरी बजाउँदै
भर्ने छु सङ्गीतका धुनहरू
 र बहिनी खुश्बूसँगै नाच्ने छु 
आफ्नै आँगनमा छमछमी 
 पढिरहेछु आमा सप्तदेवीको चुलोचौका 
र लुथ्रुक्क पसिनाले  भिजेको अनुहार जोतिरहेछु बाउ मानबहादुरसँगै एक हल गोरू
फोरिरहेछु डल्लाहरू 
टिपिरहेछु ढुङ्गाहरू 
सम्याइरहेछु छेउकुना र डिलहरू
सम्झिरहेछु दाजु कालु र रामुका स्नेहहरू
सपनामा मेरा सङ्गतिहरू झलझली आउँछन् हावामा पात उडेझैँ  प्लेनमा उडिरहेकी छु सपनामा रुम्जाटार खुब घुमिरहेकी छु

न्यास्रोले सल्बलाइरहेछन् नाचेका घाटुहरू अहिलेझैँ  लाग्छ 
बजिरहेछन् छङछङी चुराहरू 
सऱ्याप सऱ्याप घाँस काटेका प्रतिध्वनिहरू मेलापर्मका असारे गीतहरू 
उकाली ओरालीका तिर्सनाहरू
सङ्‌गीतका मधुर धुनजस्तै गुन्जिरहेछन् 
कलुषित सपनाहरू बगाउन
 कुटिल मुस्कानहरू लतार्न 
आँखाभरि सिमसार उमारेर
 संवाद गरिरहन्छु सपनामा सधैँ

म उही विन्दु रुम्जाटार फर्किँदै छु 
आमाले भुटेको एक घान मकै र साँदेको सिन्की धीत मारीमारी खाएको देखिरहेकी छु
 झलझली सपनामा
मुख रसाइरहेकी छु

ए !चन्द्रशमशेर
चाहिँदैन कसैका अलिना सपनाहरू
नारिएर खोपीहरूमा 
खर्किएर पशुझैँ पटाङ्गिनीहरूमा 
अब गर्ने छैन विलासिताका नृत्यहरू 
भर्ने छैन वासनायुक्त सङ्गीतका धुनहरू
 अलाप्ने छैन सिंहदरबारमा प्रेमका रागहरू
अब आफ्नै खरको झुपडीमा फर्किएर 
घन्काउने छु ठुमरी स्टुडियो
गाउने छु दुखियाका गीतहरू

निगाहा त्यागेर 
अलगिने छु
विजयश्वरीको झुपडीमा चर्किएका धुनहरू छलिएकी छु
आफ्नै जीवनसाथी भगतकृष्णमाथि 
उत्तरार्द्द आँखाबाट हराइरहेछ प्रेम यतिखेर

पुत्र वियोगको पीडा खिचेर आफैँभित्र 
शोकले बगेकी छु 
समवेदनाले चिरिएकी छु

तैपनि म मेलवादेवी 
ससाना छोरीहरूको अनुहार हेरेर 
उभिँदैछु शोकले बगेको पहिरोमाथि 
र खोज्दै छु परदेशमा विरानो भएको पाठशाला खोज्दै छु परदेशिएका दु:खी लाहुरे विपनाहरू 
र आमाले राडी  बुनेझैँ 
बुन्ने छु अधुरा सपनाहरू 

ठोट्ने र सिस्ने खोलाहरूमा 
खलखली नुहाए‌का मनहरू माझ
 आमाको हात सुमसुम्याउन 
फर्किँदैछु  युगौँ पुरानो बाडुली मेट्न 
आफ्नै मातृ सुन्दरताको गीत गाउन
हिँडेकी छु सपनाकी म मेलवादेवी

ए  !चन्द्रशमशेर 
हुँदैन खरानीलाई आगोको  भय 
कहाँ दुख्छ जान्दैन खरानीले
ठिक म त्यस्तै सपनामा हिँड्न थालेकी छु

त्यसैले
म जाने छैन 
अब कुनै बिरानो कलकतामा
बरू मेघा माइक्रोफोनमा
घन्किने छु आफ्नै आकाशको चोमोलुङमा 

त्यो कलकत्ता
'११ नं. रोबर्ट स्ट्रिट, १२ नं. कोठा'
जिन्दगीको एक निमेषभरि
नियतिको अँध्यारो कुनामा 
बमझैँ पड्‌केर स्टोभका छर्राहरूसँगै
मैलेझैँ  कसैले जल्न नपरोस्
  
बरू !
उधिनेर चन्द्रशमशेरका 
अस्थिरपञ्जरमाथि सल्किनु छ दनदनी
र धीत मार्नु छ बेस्सरी
भत्किनु छ कालकोठरीविरुद्ध 
म सपनाकी मेलवादेवी 

जब स्मृतिमा  फैलिएर
 पुग्ने छु रुम्जाटार
सिंहासनका राता कार्पेटहरूमा 
हरिया झिङ्गाहरूले भुनभुनाउँदै 
ओैँसा पारिरहेको देख्छु 
सपनाकी म मेलवादेवी
देखिरहेकी छु खोपी र बधशालालाई उस्तै

बाल्यकालमा खेलेकी थिएँ गुलेलीहरू
खेलेकी थिएँ डन्डिबियो र ग‌ट्टाहरू 
अहिले सम्झिँदा 
हंस हरान गर्ने अस्त्र ठानेकी छु
म सपनाकी मेलवादेवी 

ए !चन्द्रशमशेर 
लटरम्म सुन्तलाका दानाजस्तै
सपनाका पद्चादपहरूमा
उही काफलबोटकी सुनमाया 
आउनेछु कैयौँ फन्को मारेर पनि 

असङ्ख्य सपनामा म मेलवादेवी 
घुमिफिरी आउने छु रुम्जाटार 
 गाउँदै 'मेरो सवारी रेलैमा '
  म सपनाकी  मेलवादेवी !


(कवि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सदस्य हुनुहुन्छ -सम्पादक)


प्रकाशित : आइतबार, साउन २७ २०८१०६:३९
  • सम्बन्धित विषय:

  • # चेतनाथ धमला


  • प्रतिक्रिया दिनुहोस