काठमाडौं । प्रहरीले विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेको छ । भक्तपुरस्थित निवासबाट उनलाई सोमबार साँझ पक्राउ गरिएको हो ।
चुनाव भाँड्ने अभिव्यक्ति दिएका कारण उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी पवन भट्टराईले बताए । प्रसाईंलाई काठमाण्डू परिसरको हिरासतमा राखिएको छ । प्रहरीले यसअघि अन्तिमपटक ललितपुरको दक्षिणकालीबाट पक्राउ गरेको थियो ।
राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर्न माग गरेको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।
‘रातको समयमा दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेर सरकारले आफ्नो अलोकतान्त्रिक चरित्र उदांगो पारेको छ’ उनले भनेका छन्, ‘सरकार देशलाई मुठभेडतर्फ धकेल्ने प्रपञ्च गर्दैछ । बिना कारण एउटै व्यक्तिमाथि प्रतिशोध साँधेर पटक–पटक पक्राउ गर्नुले सरकारको तानाशाही चरित्रको पुष्टि हुन्छ ।’




