---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

जीवनउपयोगी शिक्षण सिकाईमा जोड दिईनुपर्छः मन्त्री चौधरी


जीवनउपयोगी शिक्षण सिकाईमा जोड दिईनुपर्छः मन्त्री चौधरी

सामुदायिक विद्यालयमा आकर्षण बढाउनु पर्ने आजको बाध्यता :

काभ्रेपलान्चोक, २ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सामुदायिक विद्यालयमा आकर्षण बढाउन जीवनउपयोगी शिक्षण सिकाईमा जोड दिनुपर्ने बताउनु भएको छ ।

images

भालेश्वर माध्यमिक विद्यालय पनौती नगरपालिका ८ काभ्रेपलान्चोकको ६७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो ।


मन्त्री चौधरीले संघीय शिक्षा ऐन संघ, प्रदेश र स्थानीय तह तीन तहको सरकार जिम्मेवार हुने गरी आउनुपर्ने बताउनुभयो  । ऐन अहिले संसद्‍मा रहेको भन्दै उहाँले सँगै विश्वविद्यालय र विद्यालय शिक्षा ऐन पनि संसद्‍मा दर्ता भएको बताउनुभयो । 


‘संघीय शिक्षा ऐन संसद्‍मा छ । सँगै विश्वविद्यालय र विद्यालय शिक्षा ऐन पनि संसद्मा दर्ता भएको छ । संघीय शिक्षा ऐनभित्र तीन तहको सरकार जिम्मेवार हुने गरी समेटिनुपर्छ’, मन्त्री चौधरीले भन्नुभयो, ‘अहिले स्थानीय निकायलाई शिक्षाको जिम्मेवारी दिइएको अवस्था छ । तर त्यसभित्र पनि केही गुनासाहरू प्राप्त भएका छन् । त्यसलाई पनि सम्बोधन हुने गरी ऐन आउनुपर्छ ।’


स्थानीय निकायहरूले सामुदायिक विद्यालयलाई समेत प्रभावित पार्ने गरी विभिन्न नियमहरू लगाउने प्रवृत्ति पनि बढेको भन्दै उहाँले ती कुराको सम्बोधन हुने गरी ऐन आउनुपर्ने बताउनुभयो । 


शिक्षकहरूलाई राजनीतिक दलमा लाग्न दिइनुहुँदैन भन्ने कुरा शिक्षामन्त्रीले अगाडि सारेको भन्दै उहाँले शिक्षालाई संघीय, प्रदेश र स्थानीय तीनै सरकारबिच कसरी समन्वय गरेर लैजान सकिन्छ भनेर ध्यान दिन जरुरी रहेको बताउनुभयो । 


‘सबै बालबालिकाले शिक्षा पाउनुपर्छ । उनीहरूलाई कुनैपनि बहानामा श्रममा लगाउन पाइँदैन । जुन कुरा सरकारको नीति तथा कार्यक्रममा पनि केही कुरा समेटिएको छ’, मन्त्री चौधरीले भन्नुभयो । 


किशोरीहरूको आत्म रक्षाका लागि सबैले अनिवार्य रूपमा आत्मरक्षा तालिम लिनुपर्ने मन्त्री चौधरीको भनाई थियो । ‘विद्यालय शिक्षा जस्तै किशोरीहरूका निम्ति आत्मरक्षा प्रशिक्षण पनि जरुरी विषय हो’, उहाँले भन्नुभयो, ‘हाम्रो मन्त्रालयले पनि किशोरीहरूलाई आत्मरक्षा तालिम भनेर केही कार्यक्रम सञ्चालन गर्ने गरेको छ । किनभने किशोरीहरूमाथि हुनसक्ने विभिन्न हिंसाको अन्त्यका लागि त्यो कार्य जरुरी छ ।’

 

मन्त्री चौधरीले ज्येष्ठ नागरिकहरूले पाउँदै गरेको सामाजिक सुरक्षा भत्ता सँगै ज्येष्ठ नागरिकहरूका निम्ति दिवा सेवा केन्द्र जस्ता कार्यक्रम ल्याउन लागिएको बताउनुभयो ।


त्यस अवसरमा बोल्दै संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री रेशम लामाले सामुदायिक विद्यालयको सुधारका निम्ति आफूले लामो समयदेखि पहलकदमी गर्दै आएको बताउनुभयो ।


प्रकाशित : बुधबार, जेठ २ २०८१०६:४२

प्रतिक्रिया दिनुहोस