---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images
धर्मेन्द्र सापकोटा

रास्वपा चितवन जिल्ला अध्यक्षले दिए राजिनामा

रास्वपामा पहिरो


रास्वपा चितवन जिल्ला अध्यक्षले दिए राजिनामा

काठमाडौं । रवि लामिछानेको नागरिकता, पासपोर्ट काण्डदेखि पार्टी खारेजको मागसँगै एक पछि अर्को लफडा आईलाग्दै जान थालेपनि रास्वपाका एक जिल्ला अध्यक्षले राजिनामा दिएका छन् । 

images


 लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले बुधबार राजीनामा दिएका हुन् । पार्टीभित्र व्यक्तिवाद चरम रूपमा हाबी भएको उनले निश्कर्ष निकालेर पार्टी महामन्त्री मुकुल ढकाललाई काठमाडौंमा राजीनामा बुझाएका छन् । सापकोटाले पार्टी व्यक्तिवादी हैकम र अराजकतामा चलेकोले पार्टीमा बस्न उचित नभएको टिप्पणीसमेत गरेका छन् ।

 

 सभापति रविलाई नै भेटेर राजीनामा दिने सोच बनाए पनि उनी नभेटिएको कारण महामन्त्रीलाई राजीनामा बुझाएको उनले बताएका छन् । ‘पार्टीभित्र हैकमवाद र व्यक्तिबादी प्रवृति देखियो, यसमा युवाहरू बसेर जीवन वर्वाद पार्नुहुन्न भन्ने मेरो ठहर हो’ उनले भनेका छन् । 

 

गत कात्तिकमा चितवन जिल्ला सभापति बनेका सापकोटाले गत मंसिर ४ गतेको निर्वाचन पनि जिल्ला समितिलाई पूर्णतया बेवास्ता गरी एकाध झुण्डलाई लिएर चुनावमा परिचालन गरिएको आरोप लगाउँदै भने,  ‘स्थानीय पार्टी संठगनलाई किन वेवास्ता गर्नुभयो भनेर महामन्त्रीलाई भन्दा उल्टै चितवनबाट भोट आएन भने, दुई दुई सांसद र सबैभन्दा बढी समानुपातिक मत आएको चितवनलाई नै लान्छना लगाए ।’

 


रवि लामिछानेसहितको टिमले जिल्ला कमिटीलाई बेवास्ता गरेर हिँड्ने गरेको, सरसल्लाह र बैठकसमेत नबसेको र यसरी पार्टी संगठन नबन्ने ठोकुवा गर्दै सापकोटाले देशभरमा बनेका जिल्ला समिति र स्थानीय नेताहरूको हालत आफ्नोजस्तै भएको दाबी गरेका छन् ।  ‘हामीले सभापति लामिछानेलाई नै भन्यौं । तर, उहाँहरूलाई पनि जिल्ला समिति चाहिएको जस्तो लागेन’ उनले भने, ‘देशभरमा जहाँजहाँ समिति बनेका छन्, तिनको हालत यस्तै होला, कुनै भूमिका छैन ।’

 

राजीनामा दिएका सभापति सापकोटाले चुनावभन्दा अगाडिसम्म पार्टी ठिकै भए पनि चुनावपछि भने गतिविधि राम्रो नभएको बताए । माथिबाट खटाइएका र तोकिएका केही मान्छे बोकेर मात्रै पार्टी चल्छ भने चल्न दिनुपर्छ भनेर आफू बाहिरिएको सापकोटाको भनाइ छ । उनले अब कुनै दलमा नलागी स्वतन्त्र भएर आफ्नो पेसा व्यवसाय नै गरेर बस्ने जवाफ दिएका छन् । 

 

रविको नागरिकता काण्डबाट पासपोर्ट काण्डतिर विवाद सर्दै गएपछि हिजोमात्रै राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया नै गलत रहेको भन्दै खारेजीका माग गर्दै निर्वाचन आयोगमा उजुरी पनि परिसकेको छ । 

 

युवराज पौडेलले निर्वाचन आयोगका सचिवलाई सो पार्टीका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले उमेदवार बन्दा पेस गरेको नागरिकता अवैधानिक ठहर गरेकोले सोही नागरिकता पेस गरी लामिछानेले गरेका निर्णयहरु अवैध हुने भएकाले तत्काल पार्टी खारेजको माग गरिएको छ ।

 

एक गैर नागरिक उपप्रधान तथा गृह मन्त्री हुँदा राष्ट्रिय गोपनीयता भंग हुने कार्य भएको हुन सक्ने भएकाले राष्ट्रिय हितभन्दा बाहिर गइ यस्ता कार्य भएको हुँदा रास्वपा खारेज गर्नुपर्ने उनको तर्क गरेका छन् । 

चितवनबाट क्षेत्र नम्बर १ मा हरि ढकाल, २ मा पार्टी सभापति रवि लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । लामिछानेको नागरिकता विवादका कारण सांसद पद गुमेको छ । 

 


प्रकाशित : बिहीबार , माघ १९ २०७९०३:१९
  • सम्बन्धित विषय:

  • # रास्वपा


  • प्रतिक्रिया दिनुहोस